एजेन्सी । अफगानिस्तानमा विद्यालय शिक्षापछि अब युवतीहरुलाई उच्च शिक्षामा पनि प्रतिबन्ध लगाइएको छ । अफगानिस्तानको उच्च शिक्षा मन्त्रीको पत्र अनुसार तालिबानले देशका विश्वविद्यालयहरूमा छात्राहरुको शिक्षामा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यो आदेश अर्को सूचना नआएसम्म कायम रहने उच्च शिक्षा मन्त्रीले बताए । यसलाई जतिसक्दो चाँडो कार्यान्वयन गरिने पनि बताइएको छ । अफगानिस्तानमा यसअघि नै महिलालाई विद्यालय जान प्रतिबन्ध लगाइएको थियो । अहिले उनीहरुको उच्च शिक्षाको पहुँच पनि बन्द भएको छ ।
काबुल युनिभर्सिटीकी एक छात्राले आफूले यो खबर सुनेदेखि लगातार रोइरहेको बताएकी छिन् । तीन महिनाअघि अफगानिस्तानका किशोरी र युवतीहरूले विश्वविद्यालयको प्रवेश परीक्षा दिएका थिए ।
तर, छात्राहरुले जुन विषय पढ्थे, त्यसमाथि व्यापक प्रतिबन्ध लगाइएको थियो । पशु चिकित्सा विज्ञान, इन्जिनियरिङ, अर्थशास्त्र र पत्रकारिता जस्ता विषयहरूमा कडा प्रतिबन्ध लगाइएको थियो ।
गत वर्ष, अफगानिस्तानमा तालिबान शासन पछि, विश्वविद्यालयहरूमा पुरुष र महिला विद्यार्थीहरूका लागि छुट्टाछुट्टै प्रवेश र अध्ययनको लागि छुट्टै कोठाको व्यवस्था गरिएको थियो ।
छात्रालाई महिला वा वृद्ध प्राध्यापकले मात्रै पढाउन सक्थे । यस प्रतिबन्धको बारेमा एक विश्वविद्यालयका विद्यार्थीले बीबीसीसँगको कुराकानीमा भने, ‘मलाई लाग्छ कि तालिबान महिला र उनीहरुको शक्तिसँग डराउँछन् ।’ विद्यार्थीले भनिन्, ‘उनीहरूले मलाई भविष्यसँग जोड्ने एकमात्र बाटो रोकिदिएका छन् ।’ तालिवानको यो आदेशको अमेरिकाले विरोध गरेको छ । अफगानिस्तानका लागि विशेष अमेरिकी राजदूत रिना अमिरीले ट्वीट गरे, ‘तालिबानले किशोरी र महिलालाई स्कूल र विश्वविद्यालयको शिक्षाबाट वञ्चित गर्नु र उनीहरुलाई लक्षित गरी जारी गरिएको १६ ं आदेशपछि कुनै शंका छैन कि तालिबान ९० को दशकको अतिवादी नीतिमा फिर्ता भइरहेको छ । उनीहरूले अफगानिस्तानको ५० प्रतिशत जनसंख्या र स्थिरताको आशालाई ध्वस्त पारिरहेका छन् ।’
अफगानिस्तानमा युवतीहरुलाई उच्च शिक्षामा पनि प्रतिबन्ध
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??