सुन प्रकरणमा पक्राउ परेका ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको जानकारी दिनुभएको छ । यस बिषयमा थपअनुसन्धान भईरहको पनि उहाँले बताउनुभयो ।
सुन व्यापारीहरूसँग रकम असुली गरेको सूचनापछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई आइतबार साँझ निवासबाट पक्राउ गरेको थियो। उनको साथबाट घरबाट ३५ तोला सुन, लाख रुपैयाँको चेक बरामद भएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीमा सरूवा भएका केसी सोमबार रमाना लिएर जाने तयारीमा थिए।
उनी करिब १३ महिनाअघि बुटवल आएका थिए। गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरू गरेको थियो। व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।