रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप– टी–२० क्रिकेट प्रतियोगितामा आज (बिहीबार) भएको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै न्यु होराइजन कलेज फाइनलमा प्रवेश गरेको छ । न्यु होराइजनले शान्ति नमूना उच्च माविलाई एक सय रनको फराकिलो अन्तरले हराउँदै फाइनल यात्रा पक्का गरेको हो । यस्तै, बिहीबारै भएको अन्तिम क्वाटरफाइनल खेलमा जेसिज उच्च माविलाई पराजित गर्दै साई ग्लोबल एकेडेमी ‘बी’ सेमफाइनल प्रवेश गरेको छ ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २० ओभरको खेलमा ३ विकेटको नोक्सानीमा १ सय ५७ रनको योगफल बनाएको थियो । जवाफी ब्याटिङ गरेको शान्ति नमूना १८ ओभर १ बलमा सबै विकेट गुमाएर ५७ रनमै समेटिएको थियो ।
अन्तिम क्वाटरफाइनल खेलमा टस जितेर ब्याटिङ गरेको जेसिजले ७ ओभर ३ बलमा सबै विकेट गुमाएर ३३ रन बनायो । मौसमका कारण १० ओभरमा छोट्याइएको थियो । प्रतिउत्तरमा साई ग्लोबलले ३ ओभर २ बलमा १ विकेटको क्षतिमा ३४ रन बनाउँदै जित निकाल्यो र सेमिफाइनल यात्रा पक्का गर्यो । उसका लागि मिर्नाल गुरुङले २१ र इमरान खानले नटआउट १३ रन बनाए । पुस १६ गतेसम्म चल्ने प्रतियोगिताका विजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।