रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ स्थित देवदह माध्यमिक विद्यालयले विद्यालय परिसर सरसफाइ अभियान सुरु गरेको छ। शनिबार विद्यालय परिवार र नेपाली सेनाको गरुड दल गण बुटवलको सहकार्यमा विद्यालय परिसर क्षेत्रको फोहोर व्यवस्थानपन तथा सरसफाई गरिएको हो। कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुबप्रसाद खरेलले सरसफाइ एक दिन मात्र गरेर नहुने र यसलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिनुभयो। उहाँले देवदहलाई शैक्षिक गुणस्तरको हवमा विकास गर्न देवदह नगरपालिका अघि बढेको बताउनुभयो। देवदह नगरपालिकाले शिक्षा क्षेत्र मा २०५ बजेट विनियोजन गरेको उहाले बताउनुभयो। उहाले शिक्षा आर्जन गर्नकै लागि देवदह बाहिर गएर पढ्ने प्रवृत्तिको अन्त्य गराउन पर्ने बताउनुभएको थियो।
विद्यालयको वार्षिकोत्सवको पुर्वसन्ध्यामा विद्यालय परिसर सरसफाई अभियान सञ्चालन गरिएको विद्यालयले जनाएको छ । विद्यालय कम्पाउण्ड बाहिर रहेको जंगल क्षेत्रमा लागू औषध प्रयोगकर्ताहरुको बिगबिगी रहेको र त्यसबाट विद्यालयका विद्यार्थी समेत कुलतमा फस्ने जोखिम बढेकाले नेपाली सेनाको सहयोगमा सरसफाई अभियान सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, शिक्षा अधिकृत परशुराम ढकाल, नेपाली सेन गरुड दल गण बुटवलका उपसेनानी सुजन सेढाई, वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराई, विद्यालयका प्रधानाध्यापक केशव घिमिरे, जनप्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेलको अध्यक्षतामा र शिक्षिका इन्दिरा अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।