गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण उपलब्ध गराइने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक १ हजार रुपैयाँका दरले निवृत्तिभरण उपब्ध गराउने घोषणा गरेको हो । पाँच वर्षभन्दा बढी सेवा अवधि पुगेर बीचैमा अवकाश लिनेहरूको हकमा भने पालिकाले एकमुस्ट दश हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
सङ्घीय सरकारले ६० वर्ष उमेर पुगी निवृत्त हुनेहरूलाई एकमुस्ट २० हजार रुपैयाँ उपलब्ध गराउँदै आएकोमा पालिकाले त्यस रकममा ३० हजार थप गरी एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।
महिला स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण उपलब्ध गराउने विषयमा पालिकाले बजेटको सुनिश्चितता गरिसकेको र यस विषयमा कार्यविधि बनाउन लागिएको र कार्यविधि बनेपछि कानुन बनाएर यही आर्थिक वर्षको दोस्रो चौमासिकदेखि यस निर्णलाई कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनको भनाई छ ।