बुटवल //
बुटवल उपमहानगरपालिकाले आज शुक्रबार सार्वजनिक सुनुवाई गरेको छ । कार्यसम्पादन र सेवाप्रवाहबारे सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भएकाहरुले विभिन्न विषयमा जिज्ञासा राख्दै बुटवल उपमहानगरपालिका र बुटवलका सरकारी कार्यालयहरुको सेवा प्रवाहका बारेमा सुझाव दिएका थिए ।
सुनुवाईमा सहभागीहरुले छाडा चौपाया व्यवस्थापन, बाँदरको आतंक, मुख्य सडक र भित्री सडक निर्माण, १६(३६ कुलोको जग्गा अतिक्रमण, सुकुम्बासी समस्या, फोहोर व्यवस्थापनजस्ता समस्याहरु उठान गरेका छन् । बुटवलमा पछिल्लो समय चोरीका घटनाहरु भइरहेकाले प्रहरीको भूमिका बढाउन सहभागीहरुले आग्रह गरेका हुन ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्याललले सार्वजनिक सुनुवाईबाट प्राप्त प्रश्न र सुझावहरुलाई ग्रहण गरि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले कार्यक्रममा उठेका विषयहरुलाई सम्बोधन गर्दै ४ सय १९ वटा प्रश्न र सुझावहरु प्राप्त भएकाले त्यसको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
उहाँले सेवा प्रवाहलाई चुस्त र दुरुस्त राख्न आफूहरुलाई महत्वपूर्ण सुझावहरु आएकाले अर्को सार्वजनिक सुनुवाई गर्ने बेलासम्म सुधार गर्ने गरी काम गर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ रुपन्देहीले समन्वय गरेको सार्वजनिक सुनुवाईमा १ सय ४ जना सेवाग्राहीसँग एक्जिटपोल र सिटिजन रिर्पोट समेत तयार पारेर प्रस्तुत गरिएको थियो । नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारले सेवा प्रवाहमा सुधार गर्नुपर्ने, कर्मचारी र जनप्रतिनिधिहरुले पनि आफूलाई सुधार गर्नुपर्ने प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सार्वजनिक सनुवाई कार्यक्रमा वडाअध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न बिषयगत समितिका संयोजक, विभिन्न नागरिक समाज तथा संघसंस्थाका प्रतिनिधि गरि करिव २ सय जनाको सहभागिता रहेको थियो ।