बुटवल//
लुम्बिनी प्रदेशका कानून व्यवसायीहरुको लागि मेलमिलापसम्बन्धी आठ दिवसीय तालिम बुधबारदेखि बुटवलमा शुरु भएको छ । जापान इन्टरनेशनल को–अपरेशन एजेन्सी (जाइका) को सहयोगमा नेपाल बार एशोसिएशनको आयोजनामा तालिम सञ्चालन भएको हो । तालिम उद्घाटनका अवसरमा बोल्दै नेपाल बार एशोसिएशनका केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले गुणस्तरीय न्याय सम्पादनको लागि कानून व्यवसायीहरुको दक्षता अति नै जरुरी भएकाले तालिम लगायतका कार्यक्रमलाई बारले प्राथमिकतामा राखेको बताए ।
कानून व्यवसायीको दक्षता अभिवृद्धिको लागि लयर्स एकेडमीको स्थापनाको लागि बार एशोसिएशन लागिपरेको उनले बताए । बार एशोसिएशनकी महासचिव अन्जिता खनालले लुम्बिनी प्रदेशमा मेलमिलापसम्बन्धी तालिम आवश्यक देखिएकोले तालिम आयोजना गरिएको बताइन । सो अवसरमा बोल्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश नित्यानन्द पाण्डेले कानून व्यवसायीहरु सामाजिक अभियन्ता समेत भएकाले मेलमिलापलाई अझै प्रभावकारी रुपमा अघि बढाउन सक्रिय बन्नुपर्ने औंल्याए ।
मेलमिलाप केन्द्रमा पठाइएका मुद्दाहरुमध्ये मेलमिलाप हुने मुद्दाको संख्या निकै कम रहेको भन्दै उनले मेलामिलापलाई प्रभावकारी बनाउन सके विवाद समाधानमा सहयोग पुग्ने बताए । बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष अधिवक्ता पशुपति भण्डारीको अध्यक्षता, उच्च अदालत बार एशोसिएशन बुटवलका उपाध्यक्ष लेखनाथ ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रममा बार काउन्सिलका पार्षद बाबुराम पाण्डे, बारका पूर्व केन्द्रीय सदस्य विष्णुमाया भुसाल, उच्च अदालत बार एशोसिएशन बुटवलका अध्यक्ष कैलाशचन्द्र ज्ञवाली लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन अधिवक्ता कुसुम अर्यालले गरेकी थिइन् ।
तालिममा लुम्बिनी प्रदेशका २७ जना कानून व्यवसायीहरुको सहभागिता रहेको छ । तालिमका सहजकर्ताहरुमा नेपाल ल क्याम्पसकी उपप्राध्यापक समेत रहेकी बार एशोसिएशन पूर्व केन्द्रीय सदस्य अधिवक्ता विष्णुमाया भुसाल, सन्तोष राना मगर, लुम्बिनी प्रदेश कानून मसौदा समितिका पूर्व सदस्य अधिवक्ता खुमाकान्त पौडेल, अधिवक्ता सूर्यराज अधिकारी लगायत रहेका छन् ।




