सियारी//
रुपन्देहीको सियारी गाउँपालिकाको १२ औं गाउँसभा सम्पन्न भएको छ । पुष २९ गते देखि शुरु भएको गाउँसभाले बिभिन्न ५ वटा बिधेयकहरु सर्वसम्मतीले पारित गर्दै सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष तथा बाह्रौ गाउँसभाका सभाध्यक्ष थानेश्वर घिमिरेले पालिका सञ्चालनका लागि आवश्यक बिधेयकहरु सर्बसम्मतीले पारित भएको जानकारी दिनुभयो । उहाँले गाउँसभाबाट पारित बिधेयकहरु कानुन सरह लागु हुने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो।
अध्यक्ष घिमिरेले सियारी गाउँपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक २०७९, आर्थिक ऐन २०७९ मा संशोधन गर्न बनेको विधेयक २०७९, सियारी गाउँपालिकाको नगर प्रहरी ऐन २०७६ मा संशोधन गर्न बनेको विधेयक २०७९, सियारी गाउँपालिकाको शिक्षा ऐन २०७४ मा संशोधन गर्न बनेको विधेयक २०७९ र सियारी गाउँपालिका लेखा समिति कार्य संचालन कार्यविधि २०७९ पारित भएको जानकारी दिनुभयो।
पालिकाको बिकासका लागि सम्पुर्ण जनप्रतिनिध र कर्मचारी एकताबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिदै अध्यक्ष घिमिरेले सभामा बिकास निर्माणका कामलाई जनताले अनुभुति हुने गरी सम्पन्न गर्न लागिएको बताउदै सबैले आआफ्नो क्षेत्रबाट आबश्यक सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । गाउँपालिकाकी उपाध्यक्ष तारा थारुले आफुहरु निर्वाचित भएर आए लगत्तै बर्षायाम लागेको, त्यसपछि निर्वाचन लगायतका कामले गर्दा काम गर्न ढिलाई भएको बताउदै अबको समय बिकास निर्माण र जनताको सेवाका लागि छुट्टाएको बताउनुभयो ।
समृद्ध सियारी र खुसी सियारीवासी बनाउने अभियानमा आफुहरु लागिपरेको बताउदै त्यसका लागि सबैको एकता र सहकार्य जरुरी रहेको उपाध्यक्ष थारुले बताउनुभयो । सभामा बोल्ने वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले सियारीको समृद्धिको लागि काम गर्नु पर्नेमा जोड दिनुभयो ।
सियारी गाउँपालिकाको अधिकांश क्षेत्र कृषि क्षेत्र भएकाले कृषकको हितलाई ध्यानमा राखेर नीति तथा योजना तर्जुमा गर्नु पर्नेमा जोड दिदै सिचाई लगाएतका क्षेत्रमा बजेट बढाउदै जानु पर्नेमा जनप्रतिनीधिहरुले जोड दिनुभयो ।