बुटवल //
उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) रूपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा गणित शिक्षकहरूको लागि शिक्षण सिकाई कार्यशाला शुरू भएको छ । दुई दिने कार्यशालाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै मुख्यमन्त्री गिरीले शिक्षाको विकासमा संस्थागत विद्यालयहरूको ठूलो योगदान रहेको बताउँदै शिक्षामा भएको कमजोरी सुधार गर्न प्रदेश सरकारले योजना निर्माण गर्ने बताउनुभयो । उहाँले नेपालका दक्ष जनशक्ति पलायन हुने क्रम बढेको बताउँदै यसलाई रोक्न सबै लाग्नुपर्ने खाँचो समेत औलाउनुभयो । ‘उच्च शिक्षा पढने भनेर नेपालका दक्ष जनशक्ति विदेश पलायत भएका छन’ गिरीले भन्नुभयोे, ‘मुलुकलाई स्थिरता दिन बौद्धिक जमातको आवश्यकता छ। मुलुक विकासको लागि दक्ष जनशक्तिलाई देशमा अडयाउन सबै लाग्नुपर्ने अहिलकोको टडकारो आवश्यकता हो ।’ कार्याशालाले गणित विषयको नतिजामा सुधार ल्याउन गिरीको भनाइ थियो ।
कार्यक्रममा हिसानका केन्द्रीय निर्देशक रामचन्द्र आचार्यले गणित सबैको जीवनको अभिन्न अंग भएको बताउँदै यस्ता कार्यशालामार्फत गणित सरल तथा आवश्यक विषय भएको सन्देश समाजमा लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सदस्य देउप्रकाश राईले गणितप्रति विद्यार्थीहरूको रूचि बढाउने र गणितलाई जीवनोपयोगी बनाउनुपर्ने जोड दिनुभयो । यस्तै कार्यक्रममा गणित समाज लुम्बिनी प्रदेश अध्यक्ष गोपाल आचार्यले गणितलाई जीवन र जगतसँग जोडन आवश्यक रहेको बताउनुभयो । हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसालले गणित विषयको प्रबद्र्धन र शिक्षकहरूको दक्षता वृद्धि गर्न हिसान विषयगत तालीममा केन्द्रित रहेको बताउनुभयो ।
अध्यक्ष भुसालले गणितलाई सरलीकृत गर्न यस्ता कार्यशाला प्रभावकारी हुनेमा जोड दिनुभयो । कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य टिकाराम न्यौपानेले गणितप्रति विद्यार्थीको रूची बढाउन आवश्यक रहेको धारणा राख्नुभयो । कार्यशालामा गणित समाज लुम्बिनी प्रदेश अध्यक्ष गोपाल आचार्य, पुलचोक इन्जिनियरिङ कलेजका सहायक प्राध्यापक डा. सन्तोष घिमिरे, पाटन मल्टिपल क्याम्पसका प्राध्यापक बेखारत्न डंगोलले कार्याशालाको सहजिकरण गर्ने हिसान रुपन्देहीका सचिव बाबुराम बञ्जाडेले जानकारी दिनुभयो । नेपाल गणित समाज लुम्बिनी प्रदेशको सहयोगमा कार्यक्रम भएको बञ्जालेले बताउनुभयो । कार्यशालामा हिसानमा आबद्ध ५४ विद्यालयका गणित शिक्षकहरू सहभागी छन् । कार्यशालामा हिसानसँग आबद्ध र अन्य गरी ५४ विद्यालयका गणित शिक्षकहरू सहभागिता रहेको छ । कार्यशाला आइतबार सकिने छ ।