काठमाण्डौ //
माघ १ गते पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको प्राविधिक विश्लेषणका लागि ‘ब्ल्याक बक्स’ फ्रान्स पठाईदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनी समक्ष प्राविधिक विश्लेषणका लागि विज्ञसहित ब्ल्याक बक्स फ्रान्स पठाउन लागिएको जानकारी दिनुभयो । उहाँले ब्ल्याक बक्स परीक्षणका लागि अर्को हप्ता फ्रान्स पठाउँने बताउदै दुर्घटनाको प्रभावकारी अनुसन्धानका लागि यसले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ।
आयोगले हालसम्म दुर्घटनाको स्थलगत अनुगमन, आवश्यक कागजात सङ्कलन तथा विज्ञसँग छलफल गरिसकेको छ । विमान दुर्घटनापछि एटिआर विमान निर्माता कम्पनीबाट आएको नौ सदस्यीय टोली प्रारम्भिक अध्ययन गरी फर्किसकेको छ । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुन्छ । ब्ल्याक बक्स विमान दुर्घटना भएको भोलिपल्ट माघ २ गते बिहान भेटिएको थियो ।
काठमाण्डौबाट पोखराका लागि उडेको यती एअरलाइन्सको कलसाइन ९–एएनसी ९एटीआर–७२–२१२० विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १८ मिटर पर सेती नदीको खाँेचमा दुर्घटना भएको थियो । त्यस विमानमा सवार चालक दलका सदस्यसहित ७२ मध्ये ७१ जनाको निधन भइसकेको छ भने बाँकी एकजनाको खोजी जारी छ ।
पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार मृतक ७१ जनामध्ये निधन भएको र थप एक जनाको शव पहिचानका लागि डिएनए परीक्षण गर्न लागिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले दुर्घटना जाँच आयोगले तीव्रताका साथ काम गरिरहेको बताउनुभयो ।
सरकारले विमान दुर्घटनाबारे जाँच गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेको आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बाँस्तोला ९अवकाशप्राप्त उपरथि० र सुनिल थापा ढअवकाशप्राप्त क्याप्टेन० तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा हुनुहुन्छ । आयोगको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ ।