दाङ//
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनमा तीन जनाको उम्मेदवारी दर्ता भएको हो ।
राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस, सत्ता गठवन्धन दलको तर्फबाट नेकपा एमाले र सत्ता गठवन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीले पनि उम्मदवारी दिएको छ ।
नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गरेका छन भने सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको तर्फबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिए पनि सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले भने छुट्टै उम्मेदवारी दिएको हो । नागरिक उन्मुक्तिका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिएका हुन् । उनको उम्मेदवारी दर्ताका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि प्रदेश निर्वाचन कार्यालय दाङमा आएकी थिइन् ।
रायको प्रस्तावकमा प्रदेश सभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेश सभा सदस्य धर्मबहादुर चौधरी छन । सरकारलाई समर्थन गरेको भएपनि आफूहरु गठबन्धन दल भित्र नरहेको नागरिक उन्मुक्ती पार्टीका अध्यक्ष श्रेष्ठले बताइन । सरकारलाइ विश्वासको मत दिए पनि हामी प्रतिपक्षको वेञ्चमा छौं । हामीले उठाउदै आएको न्यायको मुद्दा सम्बोधन नहुँदासम्म सरकारलाई हाम्रो सहयोग रहँदैन र हामीले दिएको उम्मेदवारी फिर्ता पनि लिदैनौं अध्यक्ष श्रेष्ठले भनिन् ।
नेपाली कांग्रेसका आचार्यले बुधबार दिउँसो साढे २ बजे प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर मनोनयन दर्ता गरेका हुन। उनको प्रास्तावकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोखबहादुर चौधरी रहेका छ्न । कांग्रेसले आज बिहानमात्र आचार्यको नाम टुंगो लगाएको थियो । उनी रोल्पाका पूर्व सभापति हुन् ।
एमालेका दसौदीले बुधबार १ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका हुन् । दसौदीको समर्थकमा राप्रपाकी प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल रहेका छन् । मनोनयन दर्ताका बेला लुम्बिनीका मुख्यमन्त्री लिला गिरी र एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्मा पनि निर्वाचन कार्यालय पुगेका थिए । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो । उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुदैछ ।