नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। पोखरामा मंगलबार बसेको बोर्ड बैठकले उनीमाथिको प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो ।
नेपाली क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका सन्दीप लामिछानेले गत भदौ ५ गते काठमाडौं गौशालाको एक होटलमा लगेर एक नाबालिग किशोरी बलात्कार गरेको आरोप लागेपछि क्यानले उनलाई भदौमा २३ मा निलम्बन गरेको थियो।
लामिछानेविरुद्ध बलात्कारको उजुरी परेपछि २० असोजमा प्रहरीले उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। तर पाटन उच्च अदालतले गत पुस २८ गते लामिछानेलाई २० लाख धरौटी राखेर छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए।
यद्यपि, उनलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले मंगलबार नै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ । निलम्बन फुकुवाकोबारे क्यानले औपचारिक रुपमा धारणा बाहिर ल्याइसकेको छैन ।