बुटवल//
बुटवल सुख्खानगरस्थित अक्सफोर्ड माविले कक्षा ११ र १२ तर्फ सोमबारबाट खेलकुद सप्ताह सुरु भएको छ । विद्यालयका प्राचार्य दिनेश भुसालको अध्यक्षता र पूर्व विद्यार्थी, अभिभावक तथा जिल्ला खेलकूद समिति अध्यक्ष हरि क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ। सिद्देश्वरी खेल मैदानमा आयोजित कार्यक्रमलाई विद्यालयका प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल तथा प्रमुख अतिथि हरि क्षेत्रीले संयुक्त रुपमा भलिबल समूहलाई भलिबल हस्तान्तरण गर्दै खेल सप्ताहको उद्घाटन गर्नुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरि क्षेत्रीले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि विद्यालयले आयोजना गरेको उक्त कार्यक्रम निकै महत्त्वपूर्ण रहेको बताउनुभयो।
साथै उहाले निकट भविष्यमा हुन गइरहेका जिल्ला र प्रदेशस्तरीय विभिन्न खेलकुद कार्यक्रमसम्बन्धी जानकारी दिनुभयो। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यालयका प्राचार्य दिनेश भुसालले शैक्षिक क्रियाकलापमा अब्बल रहेको अक्सफोर्डले विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद कार्यक्रमलाई पनि उच्च महत्त्व दिएको बताउनुभयो । साथै उहाले अक्सफोर्डले राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्न सफल भएको उदाहरण दिनुभयो । उद्घाटन कार्यक्रममा पहिलो दिन छात्रातर्फ भलिबल, छात्र र छात्रातर्फका ४०० मिटर र १०० मिटरका दौडहरु सम्पन्न भएका छन् भने फुटबल छात्रतर्फ क्वार्टर फाइनल खेलका समीकरणहरु पूरा भएका छन् । प्राध्यापक सञ्जय मरासिनीको संयोजकत्वमा भएको छात्रा भलिबलतर्फ आशिका लामिछानेको समूह प्रथम र दिया तामाङको समूह द्वितीय भएका छन् ।
यसैगरी प्राध्यापक विष्णु बस्यालको संयोजकत्वमा सञ्चालन भएको ४०० मिटरको दौडमा छात्रतर्फ आकाश राना प्रथम, कपिल चिडी द्वितीय र सागर राना तृतीय भएका छन् भने छात्रातर्फ फिवी राना प्रथम, कविता चौधरी द्वितीय र निशा ठकुरी तृतीय भएका छन् । यसैगरी १०० मिटरका दौडमा छात्रतर्फ आकाश राना प्रथम, विवश रसाइली द्वितीय र सरिन घर्ती तृतीय भएका छन् । छात्रातर्फ फिवी राना प्रथम, कविता चौधरी द्वितीय तथा सुजिता भट्टराई र आश्था रजाली तृतीय भएका छन् । यसैगरी मङ्गलबार सटपुट, छात्रतर्फ भलिबल, छात्रा ब्याडमिन्टन र छात्र बास्केटबल, छात्र फुटबलका सेमीफाइनल र फाइनल खेलहरु सञ्चालन हुने कुरा शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।