देवदह // रुपन्देहीको देवदहमा टर्फ विकेट पिचको उद्घाटन भएको छ। देवदह नगरपालिका वडा नं ७ स्थित शितलनगरमा निर्मित पिचको सोमबार एक कार्यक्रमबीच देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले उद्घाटन गरेका हुन्। उक्त पिच क्रिकेटर शक्ति गौचनको अगुवाईमा निर्माण भएको हो।
एक कार्यक्रमका बीच देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलले शुभारम्भ गर्दै खेलक्षेत्रको विकासमा नवनिर्मित पिच महत्वपुर्ण हुने विश्वास व्यक्त गर्दै पिचको थप स्तरवृद्धि गर्न आगामी दिनमा आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताए। विगत लामो समयदेखि क्रिकेट खेल्दै आएको सो क्षेत्रलाई आधुनिक क्रिकेट मैदानको रुपमा विकास गर्न डिपिआर तयार गरेर काम अघि बढाउने उनले बताए। पूर्वाधारमा प्रदेश र संघीय सरकारसंग समेत समन्वय गर्ने उनले बताए।
कार्यक्रममा बुद्ध पब्लिक आवसिय मा.वि का प्रधानाध्यापक कृष्ण प्रसाद गैरे, देवदह क्रिकेट युनिटका अध्यक्ष अजय थापा, युनिटका पुर्वअध्यक्ष कमल पाण्डे, स्मृति सामुदायिक बनका अध्यक्ष भरत गुरुङ लगायत स्थानीय संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
क्रिकेटर गौचनले आफुले आयोजना गर्ने विभिन्न ट्यालेन्ट हन्ट र क्रीकेट प्रतियोगिता यहि खेल मैदानमा गर्दै आइरहेका छन्।प्रत्येक वर्ष क्रिकेटर गौचनले फागुनमा आफ्नो स्वर्गीय बुबाको स्मृतीमा युवा क्रिकेटरहरुलाई प्लेटफर्म दिने रुपमा क्रिकेट प्रतियोगिता समेत गराउँदै आएका छन्।