एजेन्सी//
भारतीय अभिनेता अक्षय कुमार ट्रोलको निशानामा परेका छन् । वास्तवमा अक्षयले हालै सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा पृथ्वीमाथि हिँडेको दृश्यमा उनले भारतमाथि पनि पाइला टेकेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई देशको अपमान भएको बताउँदै ट्रोल गरिरहेका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार अक्षयले कतार एयरवेजको प्रचार सामग्रीको भिडियो शेयर गरेका थिए । जहाँ उनी पृथ्वीमाथि हिँडेका हुन्छन् । कतार एयरवेजको प्रायोजनमा आउँदो मार्चमा उत्तर अमेरिकी देशमा हुन गइरहेको महोत्सवको प्रचार सामग्रीमा उनले आफूहरू शत प्रतिशत मनोरञ्जन लिएर त्यता आउने उल्लेख गरेका छन् ।
पृथ्वीमाथि हिँड्नु नर्थ अमेरिका को यात्रालाई साङ्केतिकरूपमा देखाउन खोजिएको हो । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई देशको अपमानसँग जोडेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले अक्षय क्यानेडियन नागरिक भएकाले उनले भारतको सम्मान नगरेको उनीहरूको तर्क छ । यस्तो कार्यको लागि अक्षयले भारतीयहरूसँग माफी माग्नुपर्छ समेत भनेका छन् । भिडियोमा अक्षयसँगै नोरा फतेही, दिशा पटानी, मोनी रायलगायत पनि छन् । तर, सामाजिक सञ्जालमा ट्रोलको निशानामा भने अक्षय मात्रै छन् ।
अक्षय यसअघि पनि पटकपटक यस्ता विवादमा फसेका छन् । केही महिनाअघि अक्षयले सडक सुरक्षाका विषयमा गरेको एउटा भिडियो विज्ञापनको चर्को आलोचना भएको थियो । यस विज्ञापनमा पुलिस अफिसर बनेका अक्षयले छोरीको विदाईका बेला ६ एयरब्यागसहितको कारको फाइदाहरू बताउँदैछन् । यो भिडियो हेरेपछि सामाजिक सञ्जालमा मानिसहरुले अक्षयले दाइजोको समर्थन गरेको भन्दै आलोचना गरेका थिए । अक्षयको आगामी फिल्मको बारेमा कुरा गर्दा, उनी ‘सेल्फी’ मा देखिनेछन् । उक्त फिल्म २४ फेब्रुअरीमा रिलिज हुनेछ ।