देवदह । देवदह नगरपालिकाले दोस्रो अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिताका बिजेता खेलाडी कर्मचारीहरुलाई बधाई तथा सम्मान गरेको छ। नेपाल निजामति कर्मचारी संगठन देवदह नगर ईकाई समितिको आयोजनामा माघ २४ देखि २८ गतेसम्म सञ्चालित फूटबल प्रतियोगिताको फाइनल खेलमा देवदहले शिद्धार्थ नगरपालिकालाई टाइब्रेकरमा पराजित गर्दै बिजयी बनेको थियो। बिजेताले ५१ हजार नगद, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको थियो भने उपबिजेताले ३१ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको थियो।
एक कार्यक्रमका बिच नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नगर प्रवक्ता गणेश डुम्रे, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल लगायतले बिजेता टिमका खेलाडीहरुलाई सम्मान गरेका थिए। सोही अवसरमा नगरपालिकाका कर्मचारी सुरज बस्याललाई बिदाई गरिएको थियो। नगरको भूमी शाखामा कार्यरत बस्यालले शाखा अधिकृतमा नाम निकालेर शिफारिस भएकाले उहाँलाई बिदाई गरिएको हो।
कार्यक्रममा बोल्दै उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बिजयी खेलाडीहरु तथा समग्र नगरपालिका परिवारलाई बधाई व्यक्त गर्नुभयो। कर्मचारी खेलाडिहरुले निकै मेहनत गरेर खेल खेलेकोमा निकै खुसी लागेको उल्लेख गर्दै खेलमा सहभागी पालिका बिचका कर्मचारी तथा जनप्रतिनिधि बिच सुमधुर सम्बन्ध स्थापित भएको बताउनुभयो। आगामी वर्षहरुमा पनि प्रतियोगितालाई निरन्तरता दिन आवश्यक रहेको बताउँदै खेलले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले खेलमा जस्तै कार्यसम्पादन र विकासमा पनि उत्कृष्ट हुनका लागि सुझावहरु आएको बताउँदै त्यसतर्फ सबैले ध्यान दिनुपर्ने आवस्यकता औँल्याउनुभयो। उहाँले कर्मचारी बस्यालले नगरमा रहेर निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रगतिपथका लागि बधाई तथा शुभकामना दिनुभयो।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले नगरका कर्मचारी खेलाडिहरुले उत्कृष्ट खेल प्रदर्शन गरेको उल्लेख गर्दै सकेसम्म हरेक वर्ष प्रतियोगिता आयोजना गर्न सल्लाह दिनुभयो। खेलाडी कर्मचारीहरुको हौसलाको लागि आफुले आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा गरेको उल्लेख गर्दै नगरबासीहरुलाई दिने सेवा प्रवाहमा पनि सबै कर्मचारीहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। उक्त अवसरमा बोल्दै बिदाई हुनुभएका कर्मचारी बस्यालले बिगत ३ वर्षदेखि देवदह नगरपालिकामा कार्यरत रहंदै आएकोमा हाल शाखा अधिकृत भएर जाँदै गर्दा एक हिसाबले जागिरे जीवनको वृत्ती बिकास हुँदा खुसी र कर्मथलो छोड्नुपर्दा दुःख दुबै लागेको उल्लेख गर्नुभयो।