एजेन्सी ।
अमेरिकाले रुसलाई घातक खालका हतियार दिएर सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीसँग जर्मनीको म्युनिखमा भएको भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले युक्रेन विरुद्ध युद्धमा रहेको रुसलाई घातक हतियारको सहयोग नगर्न चेतावनी दिनुभएको हो । अमेरिकाले आफ्नो आकाशमा उडिरहेका चिनियाँ जासुसी बेलुनहरु खसालेपछि दुई देशबीच आरोप प्रत्यारोप चलिरहेको बेला वाङ र ब्लिंकेनबीच भेटवार्ता भएको हो ।
आइतबार बिहान एनबीसी न्यूज टेलिभिजनले आयोजना गरेको कार्यक्रममा ब्लिंकेनले चीनले रुसलाई थुप्रै घातक हतियार दिने योजना बनाएको दावी गर्नुभयो। यदि चीनले त्यस्तो काम गरेको खण्डमा अमेरिका–चीनबीचको सम्बन्धमा समस्या आउने सन्देश दिएको ब्लिंकेनले बताउनुभयो ।
चीनले रुसलाई उपलब्ध गराउन लागेका हतियारहरुको विस्तृत विवरण अमेरिकाले छिट्टै बाहिर ल्याउने पनि उहाँले दावी गर्नुभयो । चीन र रुसबीच गत वर्ष सीमाहीन सम्बन्धको सम्झौता भएकाले पश्चिमा देशहरु कतै चीनको सहयोगमा रुस युक्रेनमाथि हावी हुने त होइन भन्ने त्रासमा रहेका छन् । चीनले भने पश्चिमा देशहरुलाई युद्ध अन्त्य गर्ने बाटो खोज्न आग्रह गर्ने जनाएको छ ।