एजेन्सी ।
जापानको समुद्र तटमा भेटिएको एउटा ठुलो धातुको बल हटाइएको छ । यसलाई क्रेनको सहायताले निकालिएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार जापानको तटमा फेला परेको यो धातुको बललाई लिएर स्थानीयवासी चिन्तित थिए र यसबारे विभिन्न अड्कलबाजी पनि गरिएको थियो । जापानी सहर हामामात्सुका स्थानीय अधिकारीहरूले यसलाई ‘निश्चित अवधिको लागि’ सङ्गृहीत गरिने र त्यसपछि यसलाई नष्ट पारिने जानकारी दिए । जापानी अधिकारीहरूले यो के हो भनेर यसबारे किन स्पष्ट रूपमा जानकारी दिइरहेका छैनन् भनेर धेरैले प्रश्न उठाइरहेका छन। स्थानीय पुलिसलाई यस हप्ताको सुरुमा समुद्र तटमा असामान्य वस्तुको बारेमा सूचित गरिएको थियो ।
मानिसहरूले यसबारे विभिन्न अनुमान गरिरहेका थिए जस्तै कतिले यसलाई ‘गोडजिलाको अण्डा’ भनिरहेका थिए त कतिले ‘मुरिङ बोय’ तर कतिले अन्तरिक्षबाट आएको थुप्रै चिज बताइरहेका छन। प्रहरी र बम स्वक्वाडसमेतलाई अनुसन्धानका लागि पठाइएको थियो । अधिकारीहरूले धातुको बललाई घेरा हालेर एक्स–रे गरे। त्यसबाट यसमा केही घातक चिज नभएको पत्ता लाग्यो तर यसबाहेक यसबारे केही पत्ता लाग्न सकेको छैन । एक स्थानीय अधिकारीले जापानी मिडियालाई भने, ‘मलाई लाग्छ कि हामामात्सु सहरका सबै चिन्तित थिए र यो के हो भनेर उत्सुक थिए, तर काम सकिएकोमा हामी ढुक्क छौँ ।’