काठमाडौं।
आईसीसी यू-१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले लगातार दोस्रो जित हात पारेको छ । आज शनिबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई २ सय ३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यूएईस्थित मलिका क्रिकेट मैदानमा नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा अलआउट हुँदै १ सय रन मात्र बनाउन सकेको हो। पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरलाई पराजित गरेको थियो।
नेपालले अब सोमबार तेस्रो खेलमा हङकङविरुद्ध खेल्ने भएको छ। प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुने भएको छ ।