काठमाण्डाै ।
क्रिकेटर सन्दीप लामिछानेलाई सर्तसहित विदेश जान दिने अनुमति दिईएको छ । सर्वोच्च अदालतले नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज साेमवार सन्दीपलाई विदेश जान दिने गरि निर्णय गरेको हो । सन्दीपले २० लाख रुपैयाँ धरौटी राख्नुपर्ने उच्च अदालत पाटनको आदेश भने सर्वोच्चले कायम राखेको छ । सर्वोच्चले सन्दीपको रोक्का भएको राहदानी फुकुवा गर्न पनि आदेश दिएको छ । लामिछानेले यूएईमा आयोजना भइरहेको नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित आईसीसी विश्व कप लिग–२ एकदिवसीय शृङ्खलामा खेल्न जानका लागि गएको बिहीवार सर्वोच्च अदालतमा निवेदन दिएका थिए। यूएईमा आजदेखि आईसीसी विश्व कप लिग–२ शृङ्खला सुरु भएको छ ।
सर्वोच्चको आदेशमा सन्दीपले अब विदेशमा कुनै प्रतियोगिता खेल्न जाँदा प्रतियोगिता सकिएको १५ दिनभित्र नेपाल आई काठमाण्डाै जिल्ला अदालतमा उपस्थित हुन भनिएको छ । उनी यसरी अदालतमा उपस्थित नभएमा विदेश जान दिइएको सुविधा खारेज हुने आदेशमा उल्लेख छ ।