कञ्चन ।
रुपन्देहीको कञ्चन गाँउपालिकामा बेरोजगार सुचिकृत गर्नेबारे सामुहिक छलफल भएको छ । गाउँपालिकाले १८–५९ उमेर समूहका बेरोजगार युवाबर्गसँग छलफल गर्दै गाउँपालिकामा रहेको रोजगार सेवा केन्द्रमार्फत बेरोजगारीहरुलाई सूचिकृत हुन आग्रह गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रले आर्थिक अवस्था न्यून रहेका १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगारहरूसँग निवेदन दिन आग्रह गरेको गरेको हो। प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पुरा गरेका नेपाली नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन महिना भरी आर्थिक वर्ष २०७९०८० को लागि निवेदन दिन आग्रह गरेको छ। नेपाल सरकारले रोजगार सेवा केन्द्र मार्फत बेरोजगारहरुलाई न्युनतम रोजगारको ब्यबस्था गर्ने उद्धेश्यका साथ श्रमको सम्मान, राष्ट्रको अभियान, न्यूनतम रोजगार नागरिकको अधिकार कार्यक्रम संचालन गरेको छ।
पालिकाका वडा नम्बर १ देखि ५ वडा का १८ देखि ५९ वर्ष उमेर समूहका महिला, आदिवासी, जनजाति, मधेसी, दलित तथा अन्य सीमान्तकृत समुदायको सहभागितामा अभिमुखीकरण कार्यक्रम संचालन गरेको रोजगार सेवा केन्द्रका संयोजक ईश्वरी ज्ञवालीले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम के हो ? सूचीकृत हुने प्रक्रिया, समय र आयोजनाका बारेमा छलफल गरिएको छ। कार्यक्रममा गाउपालिका का उपाध्यक्ष मौसमी पुन, वडा न १ का वडा अध्यक्ष हरिनारायण थारु, वडा नं। २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ, वडा नं। ३ का टिकाराम सापकोटा, वडा नं। ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, वडा नं. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलको उपस्थिति रहेको कार्यक्रममा रोजगार सेवा केन्द्रका संयोजक ज्ञवाली र प्राविधिक महेन्द्र सुनारले न्युनतम रोजगारीका लागि बेरोजगार सूचिकृत हुनेवारे सहजीकरण गर्नुभएको थियो ।