कौरब खत्री, गुल्मी ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा रहेको ज्ञानज्योति आधारभूत विद्यालयले स्थापना बर्षको २५औं बार्षिक उत्सवमा सञ्चालन गरेको ज्ञानमहायज्ञबाट ३ करोड भन्दा बढी आर्थिक संकलन गरेको छ। मुसिकोट नगरपालिका ९ अर्लाङकोट, पाँणथोक स्थित ज्ञानज्योती आधारभूत विद्यालयले रजत महोत्सवका अवसरमा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञानमहायज्ञ सञ्चालन गरेर करिव ३ करोड चन्दा र ४ सय मुरी धान संकलन गरेको ज्ञानमहायज्ञ सचिवालय सदस्य तथा आर्थिक सचिवालय संयोजक रामकृष्ण कंडेलले जानकारी दिनुभयो ।
ज्ञानज्योती आधारभुत विद्यालयको शैक्षिक गुणस्तर सुधार र स्तर वृद्धि गर्ने लक्ष्यका साथ गत फागुन ९ गतेदेखि शुरू गरिएको थियो। मंगलवार सम्पन्न ज्ञानमहायज्ञमा आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने चन्दादाताहरुले स्वःस्फुर्त रुपमा चन्दा सहयोग गरेका थिए। साथै ज्ञानमहायज्ञको सञ्चालनको अवधिभर प्रत्येक दिन चन्दादाता सम्मान,कथा प्रबचन,भजन किर्तन झाकी लगायतका कार्यक्रम सञ्चालन भएका थिए ।