भैरहवा।
रुपन्देहीमा रहेको रोहिणी गाउँपालिकाको आयोजनामा आज शुक्रबारदेखि गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ रोहिणी–३ स्वामीनगर, धकधईस्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यामिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको रोहिणी गाउँपालिकाका अध्यक्ष तथा प्रतियोगिताका संयोजक विद्या प्रसाद यादवले उद्घाटन गर्नुभएको छ । गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले रोहिणी गाउँपालिकाले शिक्षासँगै खेलकुदलाई प्राथमिकता दिएको बताउनुभएको छ ।
श्री रामनरेश यादव आदर्श नमूना माविका प्रधानाध्यापक रामसुरेश वर्माको स्वागत तथा रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, वडा नम्बर १ का अध्यक्ष आविद अली पठान, ४ का अध्यक्ष तारानाथ यादव, ७ का अध्यक्ष अन्नान अहमद भाट, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको उद्घाटन अघि विद्यार्थीहरुले मार्चपास गरेका थिए । त्यस्तै विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति तथा कराँते खेलाडीले खेल प्रदर्शन गरेका थिए ।