देवदह । रुपन्देहीको देवदहमा विभिन्न चार ब्यवसायिक संघ संस्थाले सामुहिक रुपमा होली मिलन कार्यक्रम तथा फागुपुर्णिमा मनाएका छन्। देवदह उद्योग बाणिज्य संघको आयोजना तथा समन्वयमा देवदहको पाकरी वृक्षमा होली मिलन कार्यक्रम गरेर फागु पुर्णिमा पर्व मनाएका हुन्।
देवदह उद्योग बाणिज्य संघ रुपन्देहीको समन्वयमा भएको कार्यक्रममा सुनवल उद्योग बाणिज्य संघ, वर्दघाट उद्योग बाणिज्य संघ र उद्योग बाणिज्य संघ नवलपरासीको सहभागितामा होली मिलन कार्यक्रम गरिएको देवदह बाणिज्यका अध्यक्ष हरि भण्डारीले जानकारी दिनुभयो। देवदहमा रहेको एतिहासिक पाकरी वृक्षको प्रचारप्रसारसँगै ब्यवसायिक संस्थाविचको आपसि सद्भाव कायम गर्न पाकरी वृक्षमा होली मिलन कार्यक्रम गरिएको भण्डारीले बताउनुभयो।
होली मिलन कार्यक्रममा सुनवल बाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य, वर्दघाट बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने र उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी,संस्थाका सल्लाहकार तथा देवदह नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मोहन जिसी, संघका सल्लाहकार बासु रिमाल, प्रमोद खनाल, संघका वरिष्ठ उपाध्यक्ष मिना श्रेष्ठ, महासचिव विष्णु न्यौपाने, एक्सपर्ट एजुकेशनल कन्सल्टेन्सीका बुटवल प्रमुख रोशन कण्डेल होली मिलन कार्यक्रमले ब्यबसायिक आत्मियता र भाईचारा बढ्नुका साथै ब्यवसायिक सद्भाव कायम गर्ने बताउनु्भयो। देवदहको एसिहासीक पाकरी वृक्षमा गरिएको कार्यक्रमले देवदहको पर्यटकिय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास गर्नुभएको थियो। कार्यक्रममा देवदहसँगै सुनवल, नवलपरासी, वर्दघाटका बाणिज्यसँघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो।