रुपन्देही // त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको उम्मेदवार मनोनयनको मिति नजिकिए सँगै विद्यार्थी संगठन उम्मेदवार छनौटको रस्साकस्सीमा छन्। २०७३ सालको स्ववियु निर्वाचनमा प्यानल सहित विजयी भएको नेपाल विद्यार्थी संघ हरैया बहुमुखी क्याम्पस इकाई समितिमा उम्मेदवार छनौट सर्वसम्मत नजिक पुगेर थप सकस र पेचिलो बनेको छ। पूर्व स्ववियु सभापति तथा सभापति पदका आकांक्षी प्रकाश उपाध्याय पौडेलको निवासमा आज बसेको बैठकमा उम्मेदवार छनौटको विषयमा इतर पक्षका आंकाक्षी द्वय सुनिल राना र प्रकाश उपाध्याय पौडेल बीच सामान्य विवाद समेत भएको छ। विवादसँगै टिकटको नजिक पुगेका इकाई सभापति सुनिल रानाको सम्भावना कम भएको छ भने संस्थापन पक्षका लोकप्रिय विद्यार्थी नेता सन्तोष कंडेलको सम्भावना थप बढेको छ।
बैठक पछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै इकाई सभापति रानाले वार्ताबाट सर्वसम्मत हुने सम्भावना सकिएको र संवादका ढोका बन्द भएको बताउँदै आजै आकांक्षी तीनै जनाको नाम नेपाल विद्यार्थी संघ रुपन्देही जिल्ला कार्यसमिति र नेपाली कांग्रेस कञ्चन गाउँ कार्यसमितिमा पठाइने जानकारी दिनुभयो।
यस अघि नै लोकप्रिय विद्यार्थी नेता कंडेल लाई सर्वसम्मत सभापति पदको उम्मेदवार बनाउन आफूहरू तयार रहँदै आकांक्षा फिर्ता लिएका विद्यार्थी नेताहरु मदन आचार्य , सुभाष पौडेल , मिपाङ थापा र कुशल पौडेलले भने कुनै पनि हालतमा नेता कंडेल लाई सभापति पदको उमेदवार नबनाए संघर्ष गर्ने चेतावनी समेत दिएका छन्। लामो समय देखि नेविसंघ रुपन्देहीको अधिवेशन हुन नसकेको, एक महिना अगाडि मात्रै जिल्लामा नै समानान्तर कार्यसमिति बनेको हुँदा स्ववियु सभापति पदमै सबैको अर्जुनदृष्टि रहेको हुनसक्ने देखिएको छ।