देवदह । देवदहमा युवाका समस्या र सम्भावनाबारे सरोकारवाला संघसंस्थाबीच अन्तरक्रिया सम्पन्न भएको छ। समुदाय विकास केन्द्र रुपन्देहीको पहलमा शनिबार देवदहको पिपलडाँडास्थित होटल सनलाईटमा युवा लक्षित कार्यक्रममा संलग्न स्थानिय संघसंस्थाका प्रतिनिधिबीच अन्तरक्रिया भएको हो।
छलफलमा सहभागी हुँदै स्थानिय क्लब तथा अन्य समाजिक संघसंस्थाका प्रतिनिधिले असल नेतृत्वको अभाव, प्रयाप्त तालिम र बजेटको अभाव, सृजनशीलता र आशाबादिताको अभाव, राजनीतिक हस्तक्षेप, अस्वस्थ प्रतिस्पर्धा, युवा नीतिको अभाव, युवामा धैर्यता र प्रतिवद्धताको अभाव जस्ता समस्याको शिकार देवदहका युवाहरू भैरहेको बताए।
त्यसैगरि सम्भावनाको विषयमा आफ्ना भनाई राख्दै संघसंस्थाको नेतृत्व गरिरहेका स्थानिय युवाहरूले कृषि, पर्यटन, स्थानिय प्राकृतिक स्रोत र साधन, शिक्षा र प्रविधिको क्षेत्रमा देवदहमा युवाहरूले काम गर्न सक्ने सम्भावना रहेको औल्याउदै युवाहरूले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।
अन्तरक्रियामा देवदह प्रेस क्लबका विष्णु पोखरेल, देवदह जेसिसका दुर्गा दाहाल, विजय गुरुङ, रोट्र्याक क्लब अफ तिलोत्तमा देवदह, आविस्कार पराजुली, सुनिल गिरि, लायन्स क्लब अफ युथ प्रोफेसनल देवदहका दिपेश विक्रम मल्ल, लायन्स क्लब अफ पाकरी वृक्षका पुनम पाण्डे लगायतका संघसंस्थाहरूका प्रमुख एवं प्रतिनिधिहरूले सहभागीता जनाएका थिए।
कार्यक्रम समुदाय विकास केन्द्रका व्यवस्थापक युवराज चापागाईंको सहजीकरणमा सम्पन्न भएको थियो।