२८ फागुन, पाल्पा ।
पाल्पाको रामपुर नगरपालिकाले डिजिटल परिचयपत्र वितरण सुरु गरेको छ । पाल्पा जिल्लामै पहिलो पटक रामपुरमा ज्येष्ठ नागरिक, अपाङ्गता परिचयपत्र डिजिटल माध्यमबाट वितरण गर्न थालिएको हो । रामपुर–३ बोहरीडाँडा बस्ने ७४ वर्षीय टोपबहादुरसिं ठकुरीबाट परिचयपत्र वितरण कार्य सुरु भएको छ । नगर प्रमुख रमणबहादुर थापाले नागरिकलाई सहज सेवा दिन र रामपुर नगरलाई डिजिटलमैत्री नगरपालिका बनाउन यस कार्यको थालनी गरिएको बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिका लागि वर्ग अनुसारको रातो, निलो, पहेँलो, सेतो परिचयपत्र र ज्येष्ठ नागरिकका लागि पूर्ण विवरणसहितको डिजिटल परिचयपत्रको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताउनुभएको छ । सफ्टवेयर अफ नेपाल प्राइभेट लिमिटेडले सफ्टवेयर जडान गरेर सेवा सुरु गरिएको हो । गण्डकी, बागमती प्रदेशका केही पालिकामा सफ्टवेयर जडान गरेको यस संस्थाले पाल्पामै पहिलो पटक रामपुर नगरपालिकामा डिजिटल परिचयपत्र वितरण गरिएको सफ्टवेयर अफ नेपाल प्राइभेट लिमिटेडका इन्जिनियर गङ्गाराम रेग्मीले बताउनुभयो ।