काठमाडौं ।
ठगी, तथा अपराध सम्बन्धी कसूरमा अछामका पृथ्वी शाह सहित ६ जना जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले सोमबार उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । अदालतको आदेशपछि पृथ्वीसहित उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
शाहसँगै पक्राउ परेकी विनिता तामाङलाई अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । उनीहरु ठगी, सार्वजनिक लिखत कीर्ते र अपराध सम्बन्धी कसूरमा पक्राउ परेका हुन । यसमा संलग्न अन्य केही अझै फरार रहेको प्रहरीले जनाएको छ । अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरुविरुद्ध व्यूरोमा २४ वटा उजुरी परेको थियो।