भैरहवा ।
एक खेल अगाबै लुम्बिनी खुकुरी क्रिकेट क्लब रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार भएको सुपर फोरको खेलमा मेलवर्न क्रिकेट क्लबलाई ५२ रनले पराजित गर्दै लुम्बिनी खुकुरीले एक खेल खेल्न बाँकी छँदै फाइनल यात्रा तय गरेको हो । अब, लुम्बिनी खुकुरीले सुपर फोरबाट फाइनल पुगेको वेष्टर्न क्रिकेट क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४८।५ ओभर खेल्दै सबै विकेटको नोक्सानीमा १ सय ९५ रनको योगफल बनायो । जवाफी ब्याटिङ गरेको मेलवर्न ४२।२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४४ रनमै समेटियो । लुम्बिनी खुकुरीका सन्तोष यादव म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएका छन । प्रतियोगिताको फाइनल खेल ४ गते शनिबार हुने आयोजकले जनाएका छन् ।