काठमाडौं ।
राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार नेपालमा कूल दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनसङ्ख्या रहेको छ । महिलाको सङ्ख्या एक करोड ४९ लाख ११ हजार २७ छ भने एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ पुरुष रहेका छन् । कूल २३ दशमलव आठ प्रतिशत परिवारमा महिलाको नाममा घर जग्गा रहेको पाइएको छ । यो जुन २०६८ को तुलनामा एक दशमलव एक प्रतिशतले बढी हो । देशभर कूल ६६ लाख ६६ हजार नौ सय ३७ परिवार सङ्ख्या रहेको छ । आवासीय घर भने कूल ६६ लाख ६० हजार आठ सय ४१ रहेको छ । त्यसमध्ये घर तथा आवासीय इकाइको स्वामित्वमा समेत महिलाको सहभागितामा वृद्धि भएको छ । कूल ३१ दशमलव ५५ प्रतिशत परिवारमा परिवारमूली महिला रहेको छ । जुन, २०६८ को तुलनामा पाँच दशमलव ८२ प्रतिशत बढी हो । विसं २०६८ को कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार रहँदा त्यस्तो लैङ्गिक अनुपात ९४ दशमलव १६ थियो ।
हिमाली तथा पहाडी क्षेत्रमा जनघनत्व क्रमशः कम हुँदै गएको जनगणनाको विवरणमा पाइएको छ । तराईमा प्रतिवर्गकिलोमिटर चार सय ६० बराबरको जनघनत्व रहँदा हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्गकिलोमिटर रहेको छ । मनाङमा प्रतिवर्गकिलोमिटर तीनजना बराबरको मात्रै जनघनत्व रहेको छ । काठमाडौँ उपत्यकामा प्रतिवर्गकिलोमिटर पाँच हजार एक सय ६९ बराबरको जनघनत्व छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी जनसङ्ख्या काठमाडौँ जिल्लामा रहेको छ । यस जिल्लामा कूल २० लाख ४१ हजार पाँच सय ८७ जनसङ्ख्या छ । मनाङमा कूल पाँच हजार छ सय ५८ जनाको अक्सर बसोबास रहेको छ । मोरङ, रुपन्देही, झापा र सुनसरीमा सबैभन्दा बढी जनसङ्ख्याको चाप परेको छ। यस्तै, मुस्ताङ, डोल्पा, रसुवा, हुम्लामा भने जनसङ्ख्या कम रहेको छ । तराई कूल जनसङ्ख्याको ५३ दशमलव ६१ प्रतिशत जनसङ्ख्या रहेको छ । पहाडमा ४० दशमलव ३१ प्रतिशतको बसोबास छ । हिमाली क्षेत्रमा ६ दशमलव ८ प्रतिशतको बसोबास छ ।
दश वर्षपहिले तराईमा ५० दशमलव २७ प्रतिशत, पहाडमा ४३ दशमलव शून्य एक प्रतिशत र हिमाली क्षेत्रमा छ दशमलव ७३ प्रतिशत जनसङ्ख्याको बसोबास थियो । अक्सर हाल बसोबास गरिरहेका गाउँपालिका र नगरपालिकाबाट अर्को स्थानमा कहिल्यै बसाबोस नगरेका व्यक्तिहरु ६८ प्रतिशत छन् । कूल जनसङ्ख्याको १० दशमलव आठ प्रतिशत व्यक्तिले यसअघि बसोबास गरेको स्थानबाट अर्को गाउँपालिका वा नगरपालिकामा बसाइँसराइ गरेका छन् । १८ दशमलव दुई प्रतिशत जनसङ्ख्या अर्को जिल्लामा र तीन दशमलव एक प्रतिशत बराबर जनसङ्ख्या भने विदेश पलायन भएको छ । कूल ९३ लाख ४१ हजार चार सय आठजनाले बसाइँसराइ गरेको पाइएको छ । यसअघिको बसोबास गरेको स्थानबाट बसाइँसराइ गर्नुको खास कारण भने काम रोजगारी, व्यापार–व्यवसाय, अध्ययन, तालिम, आश्रित, प्राकृतिक प्रकोप, कृषिलगायत छन् ।