काठमाडौं ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले थोरै लगानीमा नयाँ काम गर्न चाहने युवाका लागि भाइभ पी प्रदर्शनी फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ । शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनीको उद्घाटन गर्दै थापाले थोरै लगानीमा नयाँ काम गर्न चाहनेहरूका लागि प्रदर्शनीले नयाँ बाटो देखाउन सक्ने बताउनुभएको हो। नेपालमा नयाँ प्रविधि भित्र्याउन र नविनतम् उद्योग स्थापनाका गर्न चाहनेका लागि यो राम्रो अवसर हुनसक्ने उहाँको भनाई छ। चैत १२ गतेसम्म चल्ने प्रदर्शनी स्थलमा भेटिएका अवलोकनकर्ताहरूले नयाँ व्यवसाय गर्न चाहने र नयाँ ज्ञान लिन चाहनेका लागि प्रदर्शनी फलदायी हुने बताउनुभयो। प्रदर्शनी स्थलमा भेटिएका मोरङका राजेन्द्र न्यौपानेले आफू जस्तो नयाँ व्यापार सुरु गर्ने प्लान गरिरहेका युवालाई यो प्रदर्शनीले उत्साह र ज्ञान दुवै दिने प्रतिक्रिया दिनुभयो । त्यस्तै प्रदर्शनीमै भेटिएकी काठमाडौँकी सानले नयाँ प्रविधिबारे जान्न र बुझ्न चाहनेका लागि प्रदर्शनी फाइदाजनक रहेको बताउनुभयो। कैलाली टीकापुरबाट आएर प्लास्टिकको डोरी लगायतका सामाग्रीको स्टल राखेर बसेका टीकापुर प्लास्टिक उद्योगका सञ्चालक मुकेश बहादुर बमले, प्रदर्शनीले व्यापार व्यवसाय गर्नेहरूका लागि राम्रो प्लेटफर्म प्रदान गरेको बताउनुभयो।
विशेषगरि प्लास्टिक प्रोसेसिङ मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, ईन्डक्सन मोल्डिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका व्यवसायीले सहभागिता जनाएको यस प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १५० भन्दा बढी स्टलहरु राखिएका छन् । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा भएको नेपालको तेस्रो अन्तराष्ट्रिय फाइभ पी प्रदर्शनी आज शुक्रवार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गर्नुभएको हो ।