काठमाडौं ।
चैते दशैँको छैठौँ दिन मिथिलाञ्चलमा सोमबार चैती छठ पर्व मनाइँएको छ । छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई व्रतालुहरुले सोमबार अघ्र्य अर्पण गर्ने गर्दछन । गत शुक्रबारदेखि शुरु भएको चैती छठ पर्वको मंगलबार बिहानै (भोली) उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै पर्वको समापन हुनेछ । चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ। खरनाको अवसरमा व्रतालुहरुले निराहार उपवास बसि साँझपख षष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दुध एवं विभिन्न प्रकारको फलफूल चढाइने गरिन्छ ।
पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अघ्र्य दिन व्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्वदेखि नै व्रतालुहरु पोखरीमा प्रवेश गरी षष्ठी माताको ध्यान गर्दै सूर्य देवलाई अघ्र्य दिने गर्दछन। अघ्र्यमा मुला, उखु,भाण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ । सन्ध्या अघ्र्य पश्चात रातभर व्रतालुहरु जाग्रम बसि भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गर्ने परम्परा रहेको छ ।