रुपन्देही ।
रुपन्देहीमा साढे २ लाख बराबरको जिउँदो ब्रोईलर कुखुरा बरामद गरिएको छ । शुक्रबार तिलोत्तमा नगरपालिका–१० स्थित कान्छीबजारबाट २ लाख ४५ हजार ९ सय २० रुपैयाँको अवैध ब्रोईलर कुखुरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भारतबाट नेपालतर्फ भन्सार छलेर लु ४ प ४७५९, लु २९ प ८५६३ र लु २९ प ८५६३ नम्बरको मोटरसाइकलमा ल्याइएको २०२ वटा कुखुरा र तीनवटा मोटरसाइकल बरामद गरिएको रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताउनुभयो । बरामद गरिएका कुखुरा आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया र मोटरसाइकल भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।