एजेन्सी ।
मलेसियाको संसद्ले देशको कानुनमा अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको छ । संसद्ले पारित गरेको व्यवस्था कार्यान्वयनमा आएसँगै हत्या, आतङ्कवादसहित ११ प्रकारका गम्भीर अपराधमा दिइने अनिवार्य मृत्युदण्डको सजाय हट्ने बीबीसीले जनाएको छ। मृत्युदण्डको अन्त्यका लागि गएको हप्ता मलेसियाको संसदमा दुई वटा विधेयक दर्ता गरिएका थिए। तिनै विधेयक आज संसदले पारित गरेको हो । मलेसियामा ३४ वटा अपराधमा मृत्युदण्ड दिने व्यवस्था रहेकोमा ११ वटामा अनिवार्य मृत्युदण्ड दिइन्थ्यो ।
अझै पनि असाधारण घटनाहरूमा भने मृत्युदण्डको आदेश दिन सक्ने न्यायाधीशहरूले स्वविवेकीय अधिकार कायमै राखिएको छ। मलेसियामा अहिले मृत्युदण्ड तोकिएका एक हजार तीन सय ४१ जना कैदीहरू मृत्युदण्डको पर्खाइमा रहेका छन। अब उनीहरूको ज्यान जोगिनसक्ने बीबीसीको खबरमा उल्लेख छ । नयाँ कानुनले यसअघि नै मृत्युदण्डको फैसला सुनाइएका तर सजाय पाउन बाँकी मानिसहरूलाई पनि ९० दिनभित्र सजायबारे पुनरावेदन माग गर्ने समय दिनेछ। अझैसम्म मृत्युदण्डको सजाय दिइने विश्वका ५३ देशहरूमध्ये मलेसिया पनि एक हो ।