बुटवल ।
अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारी विकास र शान्तिका लागि बिहीबार लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय पिस म्याराथन–२०२३ को तयारी पुरा भएको छ । ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिताको आयोजना गरिएको बताउनुभएको छ । म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहीबार बिहान ७ बजे सुरु भई लुम्बिनीको शान्ति दीप रहेको गेट अगाडि समापन हुनेछ । खेलकुदको माध्यमबाट लुम्बिनीको प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्यसहित २ सय ७ राष्ट्रका खेलाडी तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको महासचिव श्रेष्ठले जानकारी दिनुभयो।
प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष दुवैले जनही १ लाख, द्वितीयले ५० हजार र तृतीय हुनेले २५ हजार नगद प्राप्त गर्ने लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिनुभएको छ । प्रतियोगिता गर्न ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा विभिन्न देशका ५० बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ । यो वर्षको प्रतियोगिता समापनसँगै २ सय ७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिने छ ।