चितवन ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले राज्यशक्तिको दुरुपयोग गर्ने शासक दलहरु देशघाती र कामदार वर्गका शत्रु भएको बताउनुभएको छ । शुक्रबार चितवनको रत्ननगरमा नेपाल क्रान्तिकारी महिला संघको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै उक्त कुरा बताउनुभएको हो। सचिव सुवालले जनविरोधी शासक दलहरुलाई अन्त्य नगरेसम्म नेपाली जनताले सुख नपाउने बताउदै नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गर्ने संरा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध नगर्ने पार्टीहरु नयाँ वा पुरानो जुन भए पनि जनताको पार्टी हुनै नसक्ने जिकिर गर्नु भयो। शासक पार्टीहरुलाई प्रष्ट रुपमा दलाल पार्टी भएको हो र मन्त्री भएका व्यक्तिहरुले नै मन्त्री हुँदा अरबौं भ्रष्टाचार गरेको खुलासा गरिरहेको सन्दर्भ उल्लेख गर्दै सचिव सुवालले मन्त्री खाएको पार्टीहरुलाई जनताले विश्वास गर्न नहुने उल्लेख गर्नुभयो। “भ्रष्टाचारी मन्त्रीहरुलाई जनताले बहिस्कार गर्नुपर्छ ।” प्रतिनीधि सभा सदस्य समेत रहनु भएका सचिव सुवालले भन्नुभयोे ।
निर्वाचन आचार संहिता पालना गरी नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी महिला संघको राष्ट्रिय सम्मेलन चितवनको निर्वाचन नहुने क्षेत्रमा आयोजना गरेको तर निर्वाचनमा पैसा खर्च गरी, डर धम्की देखाइ शासक दलहरुले निर्वाचन आचार संहिता उलंघन गर्दै आएको सचिव सुवालल स्पष्ट पार्नुभयो । सम्मेलनमा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले वर्गसंघर्षको नमुना आन्दोलन नेमकिपाले चितवनमा देखाएको स्मरण गर्दै ५० वर्षअघि सामन्तवाद र पुँजीवादविरुद्ध रोपेको विऊलाई फलमा रुपान्तरण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो। तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन शत्रको अध्यक्षता गर्दै नेपाल क्रान्तिकारी महिला संघका अध्यक्ष अनुराधा थापामगरले चितवनको ऐतिहासिक किसान आन्दोलन सधैंभरि प्रेरणाको स्रोत हुने बताउँदै जुगेडीको बाटो नै क्रान्तिको बाटो भएको उल्लेख गर्नुभएको थियो । सम्मेलनको उद्घाटन शत्रमा विभिन्न जिल्लाका कलाकारहरुले गीत, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।