भैरहवा ।
नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माणमा ठेकेदार कम्पनीले उल्लेख्य काम नगरेको सूचनापछि निरीक्षणमा निस्किएको बताउनुभएको छ । मंगलबार प्रेस सेन्टर नेपाल रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभयो। म भौतिक योजना मन्त्री हुँदा नै सडक निर्माणमा उल्लेख्य प्रगति हुन नसकेको सूचना पाएँ र तुरुन्तै मैले त्यसको बारेमा बुझ्दा चिनियाँ कम्पनीले ठेक्का लिएको हुनाले चिनियाँ राजदुत सहित सडक निरिक्षणको योजना बनाएको थिएँ । उहाँले भन्नुभयो , हाल म गृहमन्त्री बनेपछि भौतिक योजना मन्त्री, चिनियाँ राजदूत, सडक बिभागका अधिकारी र ठेकेदार कम्पनीका प्रतिनिधि सहित सडक अनुगमनमा निस्किएको हुँ।
सडक निर्माण वा कुनैपनि निर्माणको ठेक्का लिएपछि समयमै काम सम्पन्न गर्नुपर्ने बताउँदै गृहमन्त्री श्रेष्ठले लापरबाही गर्नेमाथि कार्वाही हुने बताउनुभयो। नागरिकता विधेयकबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले नागरिकता प्राप्त गर्न योग्य नेपाली नागरिकलाई नागरिकता बिहिन नगराउने गरि विधेयक अगाडि बढाईने बताउनुभएको छ। रुपन्देहीमा केही क्यासिनोहरू विना दर्ता संचालन भैरहेपनि कार्वाही नगरिएको सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री श्रेष्ठले अबैध कारोबारीमाथि कार्वाही गरिने उल्लेख गर्नुभयो। बुटवल-नारायणगढ सडक खण्डको अनुगमनमा बुटवल आएका गृहमन्त्री श्रेष्ठले सोमबार रुपन्देही र पाल्पाको सिमा क्षेत्रमा बन्दै गरेको सुरुङमार्गको समेत अनुगमन गर्नुभएको थियो।