राम बहादुर बिश्वकर्मा, प्युठान // प्युठान नगरपालिकाले आर्थिक विकास शाखा अन्तर्गत ३ किसिमका सिपमुलक तालिमहरुको एक कार्यक्रम बिच उदघाटन गरिएको छ। झिमरुक सीप बिकास तथा व्यावसायिक तालिम केन्द्र बिजुवारको सहजीकरणमा १ महिने कम्प्युटर तालिम,सुर्य चन्द्र ड्राइभिङ्ग इनिस्च्युट चितिखोलाको सहजीकरणमा ड्राइभिङ तालिम र लालिगुरास महिला सिलाई कटाई सेन्टर बिजुवारको सहजीकरणमा दलित जनजाति लक्षित बर्गमा बिनियोजित कार्यक्रम अनुसार तालीमको आयोजना गरिएको आर्थिक बिकास शाखाका प्रमुख चन्द्र बहादुर जि सि ले जानकारी दिनु भयो।
तालिमको उद्घाटन गर्दै प्युठान नगरपालिकाका उप-प्रमुख देवेन्द्र वर्माले तालिममा लगनशील भएर सीप सिक्न आग्रह गर्दै सिकेको सीपलाई दैनिक ब्यवहारमा लागू गरी आर्थिक उपार्जन गर्न सुझाव दिनुभयो। नगरबासिले तिरेको करबाट प्रशिक्षार्थीको क्षमता बिकासमा खर्च गरिएको छ प्राप्त क्षमतालाई सकारात्मक पाटोमा प्रयोग गर्नुहोस्”नगर उप-प्रमुख वर्माले भन्नुभयो,-“क्षमता बिकास गर्दै जाने सहभागीलाई नगरपालिकाले थप सहयोग समेत गर्नेछ।”
नगरपालिकाका १० वटै वडा बाट छनोटमा परेका युवा युवतीलाई विभिन्न सीप सिकास तालिम प्रदान गराई दक्ष जनशक्ति उत्पादन गर्ने मुख्य उद्धेश्यले यि तालिमहरु सञ्चालन गरिएको नगर प्रवक्ता तथा आर्थिक बिकास समिती संयोजक सुमन श्रेष्ठले बताउनुभयो। प्युठान नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको यि तालिमहरु “तपाईहरुको लागि सीप सिक्ने यो एउटा महत्वपूर्ण अवसर रहेकोले सक्रिय सहभगिता जनाई सिप आर्जन गरि तालिममा सिकेका सीपलाई ब्यवहारमा लागू गर्न सके आम्दानीको पाटोको रुपमा विकास गर्न सक्ने श्रेष्ठले बताउनुभयो।
प्रमुख प्रसासकिय अधिकृत महेश कुमार गुरुङले सिपमुलक तालिमहरुलाई आर्थिक पक्ष सँग जोड्नु आजको समयको माग भएको र बेरोजगार युवायुवतीहरुले सीप सिक्न आवश्यक रहेको बताउनुभयो ।उहाँका अनुसार सीपले मानिसको जिविकोपार्जनमा सहयोग गर्छ । त्यसैले तालिममा सहभागी युवायुवतीहरुलाई सक्रिय भएर सीप सिक्न आग्रह गर्नुभएको थियो।
नगर प्रवक्ता तथा आर्थिक बिकास समिति संयोजक सुमन श्रेष्ठको अध्यक्षता,नगर उप प्रमुख देवेन्द्र वर्माको प्रमुख आतिथ्यता,नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेशकुमार गुरुङ्गको बिशिष्ट अतिथ्यता र प्युठान नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा सामाजिक बिकास समिति संयोजक नरेन्द्र पुन मगरको बिशेष आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमको सन्चालन उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले गर्नुभएको थियो।