काठमाडौं ।
मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउका ४२ वर्षीय जानकी रोकायाबीच आईतबार जिल्ला अदालत मुगुमा यो विवाह भएको हो । आफूहरुबीच २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको उनीहरुले बताएका छन । यसअघि परम्परा, धर्म, संस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो ।
विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्यायाधीश दिलकुमार वर्देवाले विवाहित जोडीलाई प्रमाणपत्र प्रदान गर्नुभएको छ । न्यायाधीश वर्देवाले जिल्लामा पहिलो पटक अदालती विवाह भएको जानकारी दिनुभयो । काफ्लेकि श्रीमतीको २०७७ असोज १८ मा निधन भएको थियो भने रोकायाले गत पुस ४ मा श्रीमानसँग सम्बन्धविच्छेद गर्नुभएको थियो ।