काठमाण्डौ ।
जहाजमा चरा ठोक्कियो भनेर भ्रमपूर्ण समाचार फैलाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका दुई जना कर्मचारी कारबाहीमा परेका छन । कुनैपनि आधार प्रमाणविना जहाजमा चरा ठोकिएको भ्रमपूर्ण समाचार फैलाएको भन्दै प्राधिकरणले फ्लाई दुवईका नेपाल म्यानेजर र एअरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ भने उनीहरूको एअरपोर्ट पाससमेत निष्क्रिय पारिएको प्राधिकरणले जनाएको छ। हिजो (सोमबार) राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुवईको पखेटामा आगोको झिल्कासहित ठूलो आवाज आएको थियो।
बोइङ ७३७ विमान हिजो राति ९ बजेर १९ मिनेटमा उडेको थियो। ९ बजेर २० मिनेटमा नै पाइलटले इन्जिनमा समस्या आएको भन्दै सिङ्गल इन्जिनले मात्रै काम गरिरहेको जानकारी विमानस्थल टावरलाई गराएका थिए। इन्जिनमा आगोको झिल्कोसहित पड्किएको ठूलो आवाज पनि बाहिरै सुनिएको थियो। त्यसपछि पाइलटले धादिङको धार्के माथिको आकाशमा १० मिनेट विमान (होल्ड) गराएपछि कुनै समस्या नदेखिएको भन्दै सिधै दुवईमा लगेर अवतरण गराएका थिए।