काठमाडौं ।
नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रदेश सभा सदस्य सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । बिहिबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । पाण्डेलाई नेपाली कांग्रेसका २७, माओवादीका ७ र नेकपा एकीकृत समाजवादीका १ जना सांसदको समर्थन रहेको छ । पाण्डेले उनीहरुको हस्ताक्षर सहित मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको थियो ।
केन्द्रमा सत्ता गठबन्धनमा सहभागी दलहरुका समर्थनमा पाण्डे गण्डकीको मुख्यमन्त्री बन्नुभएको हो । यस अघि नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बन्नु भएका खगराज अधिकारीले यही वैशाख ९ गते प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको थियो । तर अधिकारीले विश्वासको मत पाउन नसकेपछि उहाँ पदमुक्त हुनुभएको हो । त्यसपछि गण्डकीमा कांग्रेसले मुख्यमन्त्री पाएको हो ।