काठमाण्डौ ।
यो वर्ष खाद्यान्न सङ्कट हुन सक्ने भन्दै विज्ञहरुले चेतावनी दिएका छन् । अहिले हिउँदमा पनि आवश्यक वर्षा नभएको र आउँदो मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने सुझाव दिएका छन्। बिहिबार जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुन सिजनको अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा खाद्य चक्रलाई सहज बनाउन उनीहरुले सरकारलाई सचेत गराएका हुन् । नेपालमा यस वर्षको वर्षायाममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुने समेत बताएका छन्।
जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यस पटकको वर्षायाममा आवश्यक वर्षा नहुने भन्दै सरकारले खाद्य सुरक्षाका लागि आवश्यक रणनीति बनाइ पूर्व तयारी थाल्नुपर्ने र गहुँ, धान, मकै लगायतका बालीहरुमा कमी आउने र खाद्यान्न पहिलाको भन्दा बढी आयात गर्नुपर्ने स्थिति आउनसक्ने भन्दै समयमा नै पूर्वतयारी गर्न सरकारलाई सुझाव दिनुभएको छ । यस्तै सरकारले आउँदो मनसुन सिजनमा कम वर्षा हुने मौसमविद्हरुको आंकलन रहेको भन्दै खाद्यान्न जोहो गर्नुपर्नेमा सरकार सचेत रहेको बताएको छ ।