रुपन्देही।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्धको शिक्षाबाट आफू प्रभावित भएको बताउनुभएको छ । आज शुक्रबार २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा आयोजन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बुद्धका अनुयायी सम्राट अशोकको जीवनसँग आफ्नो जीवन पनि मेल खाने उल्लेख गर्नुभयो । यस्तै प्रधानमन्त्री दाहालले क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्वले विस्तृत शान्ति सम्झौता मार्फत क्रान्ति र शान्तिलाई एकअर्काको पूरकको रूपमा व्यवहार सिद्ध गर्नुले आफू बुद्धको शिक्षाबाट प्रभावित भएको पुष्टि गरेको बताउनुभएको हो । बुद्धको शिक्षाबाट आफू प्रभावित मात्र होइन त्यो शिक्षालाई आफ्नै मौलिकतामा देश र जनताको सार्वभौम हितका निम्ति अनुशरण गरिरहेको पनि उहाँको दाबी छ ।
साथै बिहान बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा बृहत् शान्ति र्याली निकालिएको छ । औपचारिक समारोहअघि धार्मिक पूजासँगै ५ नं गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति र्याली निकालिएको थियो। विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिनिधि सभा, प्रदेश सभा सदस्य, स्थानीय सरकार प्रमुख, कुटनीतिक नियोग, विदेशी पाहुना लगायतको सहभागिता रहेको छ ।