काठमाडौं ।
बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई बिक्रीबिरतण गरी ठगी गर्ने गिरोह पक्राउ परेका छन। रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेमा भारत, विहारको विरपुरका ५२ वर्षीय मनिस धामी, ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधीर धामी, २० वर्षीय रवीन धामी, ४८ वर्षीय अरुण धामी र २८ वर्षीय वुदुवा धामी रहेका छन।
उक्त समुहले घर भाडामा लिएर अखाद्यपदार्थ मिसावट गरी मह उत्पादन गरी बिक्री गर्दै आएको वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभएको छ। प्रहरीले गस्तीका क्रममा मह उत्पादन गर्दै गरेको उद्योगमा सो गिरोहलाई फेला पारी पक्राउ गरेको हो। उद्योगमा खानतलासी गर्दा चार क्विन्टलभन्दा बढी अखाद्यपदार्थ मिसावट गरेको मह फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको मह परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको छ।