११ जेठ, काठमाण्डौ ।
कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद माफी गर्न सरकारले प्रक्रिया अगाडी बढाएको छ । रेशम चौधरीलाई जन्मकैदको फैसला हुने जिल्ला अदालतको फैसला सर्वोच्च अदालतले सदर गरेको केही दिनमै सरकारले कैद माफी गर्ने प्रक्रिया अघि बढाएको हो । यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिनेगरी सरकारले फाइल तयार गरेको स्रोतले जनाएको छ । चौधरीलाई जन्मकैद हुने सर्वोच्चको पूर्णपाठ नआइसकेकाले आममाफी दिनको लागि राष्ट्रपति कार्यालय भने अन्योलमा रहेको छ । कैलालीको टीकापुरमा २०७२ सालको भदौमा ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको ज्यान जाने गरी भएको घटनामा रेशम चौधरी संलग्न रहेको सर्वोच्चको ठहर छ । चौधरी २०७४ सालदेखि जेलमा छन् । जन्मकैदको सजायअनुसार चौधरीले २० वर्ष कैद भुक्तान गर्नुपर्नेछ ।