काठमाण्डौ ।
मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा लु लाग्न सक्ने भन्दै चेतावनी दिएको छ । पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको महाशाखाले जनाएको छ । आज (शुक्रबार) काठमाण्डौ उपत्यकासहितका ठाउँको तापक्रम क्रमिक वृद्धि भइरहेको तथा मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन भएको महाशाखाले जनाएको छ । पछिल्लो पाँच दिनदेखि आकाश खुला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी भएको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
तातो हावा तथा लुका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने महाशाखाले जनाएको छ । ुलुु तथा गर्मीको समस्याबाट बच्न यो समयमा सकेसम्म बाहिर ननिस्कन, हल्का लुगा लगाउन, बाहिर निस्कनै परे टाउको छोपेर निस्कन आग्रह गरिएको छ । पटक–पटक पानी तथा जुस, सर्वत लगायतका झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा तत्कालै स्वाथ्यकर्मीसँग सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ ।