काठमाण्डौ ।
नेपालमा आउँदो मङ्गलबारदेखि बढ्दै गएको गर्मी केही कम हुने मौसमविद्ले अनुमान गरेका छन् । आज मनसुन भारतको केरलाका सबै भागसहित कर्नाटकका केही भाग र बङ्गालको खाडीको पूर्व र उत्तरभागमा पुगेको र त्यहाँ आउँदो ४८ घण्टामा मनसुन थप सक्रिय हुने भारतको मौसम विभागले जनाएको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय अवस्थाका कारण आउँदो मङ्गलबारदेखि नेपालमा बदली भइ गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिनुभएको छ । यी दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मङ्गलबार वा बुधबार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको उप्रेतीले जानकारी दिनुभएको छ । अरब सागरको आँधी र बङ्गालको खाडीको न्यूनचापीय अवस्थाले चाँडो नेपालतर्फ धकेल्ने भएकाले नेपालमा गर्मी घट्ने दिन नजिकिएको जलवायुविज्ञले बताएका छन ।