काठमाण्डौ ।
नारायणगढ–मुग्लिन सडकको पहिरो हटाउन नसक्दा यात्रुहरु बिचल्लीमा परेका छन। चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा पहिरो जाँदा हिजो दिउँसो साढे १ बजेदेखि सडक अवरुद्ध भएको हो । २२ घण्टादेखि सयौँ यात्रु सडकमा अलपत्र छन् भने पहिरोका कारण साना ठूला सबै गाडी बीच बाटोमै रोकिएका छन। लगातार पहिरोसँगै ठूला ठूला ढुङ्गा खसिरहेकाले पहिरो हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलका अनुसार पहिरो नरोकिए आज दिनभरि नै सडक बन्द हुने सम्भावना रहेको छ । सडकमाथिको पहाड नै खसेर सडकमा बसेको छ भने बेलाबेला ठूला ढुङ्गासमेत खसिरहेकाले हटाउन कठिनाइ भएको उहाँको भनाई छ । आज सकेसम्म यो सडकमा यात्रा नगर्न र गर्नै परे वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । काठमाण्डौ भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी आवतजावत गर्छन् । सडकको स्तरोन्नतिका क्रममा धेरैजसो ठाउँमा भित्तो काटिएकाले यो सडक खण्डमा पहिरोको जोखिम उच्च छ ।