रूपन्देही ।
तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेसंगै सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार रूपन्देही, पाल्पा, नवलपुर र आसपासका क्षेत्रहरूमा भारी वर्षा भएकाले तिनाउ नदीमा बाढी आएको छ। शनिबार बिहान ८ बजे तिनाउले खतराको तह पार गरेको हो। बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७.२२ मिटर पुगेको छ। महाशाखाका अनुसार जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ। तिनाउ नदीको जलसतह ६.८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणी पाण्डेले तिनाउले खतराको तर पार गरेपनि अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको जानकारी दिनुभएको छ।