काठमाडौं । साल्ट ट्रेडिङ काभ्रेले बितरण गर्ने रासायनिक मलमा दुरुपयोग भएको भेटिएको छ। सोमबार विशेष निगरानी मार्फत रासायनिक मलको दुरुपयोग हुने पुष्टि भएको हो।
जिल्लामा मल बितरणमा कालोबजारी बढेको र किसानले रासायनिक मल नपाएको गुनासो बढेपछि युवा संघ नेपाल काभ्रेले विशेष निगरानी मार्फत मलको दुरुपयोग पत्ता लगाउन जुटेको थियो।
त्यहीँ शिलशिलामा साल्ट ट्रेडिङ बनेपाबाट धुलिखेल नगरपालिका वडा नम्बर ७ मा रहेको सरस्वती कृषि सहकारीलाई दिइएको ३० बोरा डिएपी मलमा दुरुपयोग भएको पाइएको युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाहले बताए।
सरस्वती कृषि सहकारीका अध्यक्ष जेके श्रेष्ठले धुलिखेलका किसानका लागि भनेर साल्ट ट्रेडिङबाट ३० बोरा रासायनिक मल लगेका थिए । तर उक्त मल धुलिखेल नभएर पाँचखाल लैजादै गर्दा बाटोमै जफत गरिएको छ। अध्यक्ष श्रेष्ठले प्रति बोरा ३ हजार पाउने गरी पाँचखाल बेच्न पठाएको युवा संघका सचिव शाहले बताए।
एक गाडी मार्फत लगिएको उक्त मललाई बाटोमै युवा संघले नियन्त्रणमा लिएको थियो। कमिसन खाएर मल दिइएको सूचना पाएपछि युवा संघ विशेष निगरानीमा लागेको र मल लगेको प्रमाण माग्दा दुरुपयोग भेटिएको उनले बताए।
पाँचखालमा प्रति बोरा ३ हजारमा पठाएर सहकारीले ६ सय ३० कमिसन खाएको भेटिएको छ। पाँचखालबाट व्यापारीले ३ हजार ५ सयसम्ममा किसानलाई मल बेच्ने गरेको जनाइएको छ।
साल्ट ट्रेडिङले सरस्वती सहकारीलाई छुट्टाएको कोटा ३ सय १० हो। तर यो सहकारीलाई साल्टले १ हजार ३ सय ७ बोरा मल दिएको पाइएको छ। चालु आवमा साल्ट ट्रेडिङले बितरण गर्ने मलको रिपोर्ट माग्दा उक्त प्रमाण भेटिएको छ।
साल्टले कोटा भन्दा कयौं गुणा बढी मल सहकारीलाई किन दिएको यस बिषयमा थप अनुसन्धान हुने जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले बताए । यस बिषयमा साल्टको कार्यालय बनेपा पुगेका जिसस प्रमुख गौतमले आफूले यस बिषयलाई मसिनो गरी अनुसन्धान गर्ने र दोषी माथि कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिए।
यता रासायनिक मलको दुरुपयोग भएको बिषयलाई कृषि तथा पशुपन्छी बिकास मन्त्रालयमा जानकारी दिइएको छ। मन्त्रालयले आवश्यक अनुसन्धान गर्ने जनाएको छ। अनुदानको मल बितरणको जिम्मेवारी पाएको साल्ट ट्रेडिङबाट किन यस्तो भएको हो यसको छानबिन हुने मन्त्रालयले जनाएको छ।
पछिल्लो समय रासायनिक मलको दुरुपयोग हुन थालेको सूचना पाएपछि कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले मातहतका निकायलाई नियमनको लागि निर्देशन दिएका छन् । रासायनिक मलको अभाव नभएको बेलामा किसानले मल नपाउने स्थिति आउनु दु:खद भएको भन्दै मल बितरण प्रणालीमा मन्त्री भुसालले चासो राख्दै आएका छन्। यहीँ बेला काभ्रेमा अनियमितता भेटिएको हो।